Tuesday, July 30, 2019

२ जनाविरुद्ध मुद्दा, दुई अधिकृतसहित ७ जना घूससहित पक्राउ

काठमाडौं, १३ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) सहित २ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने दुई शाखा अधिकृतसहित ७ जनालाई घूससहित पक्राउ गरेको छ ।
अख्तियारले साविक जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजन इन्जिनियर लालु गिरीविरुद्ध भोजपुर–टक्सारकोट–गगने–लेखर्क सडक स्तारोन्नति योजनामा अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार गिरीले उक्त योजनामा १८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेका थिए ।् अख्तियारले अभियोगपत्रमा गिरीलाई जेल सजाय र भ्रष्टाचार रकम बराबर जरिवाना गर्न मागदाबी गरेको छ ।
अख्तियारले बाराको पचरौता नगरपालिकाका नायब सुब्बा बद्रीबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ । थापाले नगरपालिकाको महिला तालिम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्न सेवाग्राहीसँग १४ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै सिनियर डिभिजनल इन्जिनियर गिरी र नासु थापा सेवाबाट निलम्बित भएका छन् ।
अख्तियारले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घूससहित पक्राउ गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमबापतको पेस्की फछ्र्योट गरिदिने क्रममा सेवाग्राहीसँग लिएको १ लाख ३० हजार रुपैयाँ घुससहित उनीहरू पक्राउ परेको अख्तियारले जनाएको छ । आचार्यसँगै स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन् ।
अख्तियारले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ।गुप्ताले जनचेतनामूलक सामग्री रेडियोमा प्रचारप्रसार गर्न कोटेसन लिई कार्य सम्पन्न गरी भुक्तानी दिने क्रममा सेवाग्राहीसँग लाख रुपैयाँ घूस लिएको अख्तियारले उल्लेख गरेको छ।
अख्तियारले मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश्वर ठाकुर र लेखापढी व्यवसायी राजवंशी चौधरीलाई घुससहित पक्राउ गरेको छ । ठाकुर र राजवंशीलाई जग्गाको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको ४ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुससहित पक्राउ परेका सातै जनालाई अख्तियारको हिरासतमा राखिएको छ ।




No comments:

Post a Comment