Wednesday, July 10, 2019

रानी पोखरीको मन्दिर मल्लकालीन शिखर शैलीमा पुननिर्माण गर्न ठेक्का सम्झौता

काठमाडौं, २४ असार– राजधानीको मुटु रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण छिट्टै सुरु हुने भएको छ । मन्दिरको पुनर्निर्माण मल्लकालीन शिखर शैलीमा हुने जानकारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको छ ।
पटकपटक बन्न सुरु भए पनि मौलिकतालगायत निर्माण शैलीका विषयमा विवादमा पर्दै आएका कारण मन्दिरको पुनर्निर्माण कार्य लामो समयदेखि अवरुद्ध थियो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंगलबार पुननिर्माणको ठेक्का सबभन्दा कम रकम कबोल गरेको निर्माण कम्पनी सिए÷तुलसी कन्सट्रक्सन जेभीलाई दिएको छ ।
राजधानीमा मंगलबार भएको ठेक्कासम्बन्धी सम्झौतामा प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्राधिकरणले कम्पनलिाई बालगोपालेश्वर मन्दिर, मन्दिर प्रवेश गर्ने पुल र पोखरी वरिपरिको बगैंचा पुनःनिर्माणको ठेक्का दिएको हो । कम्पनीले पुनःनिर्माण कार्य १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँमा गर्नेछ ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण कार्य द्रुत गतिमा गरिने जानकारी दिए ।
प्राधिकरण सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शर्माले निर्धारित समयअघि नै निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।
निर्माण व्यवसायी श्रेष्ठले प्राधिकरण, उपभोक्ता समितिलगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर पुनर्निर्माण कार्य गरिने प्रतिबद्धता व्यक्त गरे ।
रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले निर्माण व्यवसायी र स्थानीयवासीबीच एकअर्कालाई सहयोग गरेर समन्वयात्मक रूपमा पुनःनिर्माणको काम गर्ने सहमति भएको बताए ।
रानीपोखरी उपभोक्ता समितिमार्फत रानीपोखरीको पिंध र वरिपरिको क्षेत्रमा पर्खाल लगाउने काम भइरहेको छ । मन्दिर र रानीपोखरी क्षेत्रको संरचनामा वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको थियो ।

No comments:

Post a Comment