Thursday, July 25, 2019

त्रिविद्वारा नम्बर बढाइएका प्रमाणपत्र रद्द

काठमाडौं, ८ साउन– त्रिभुवन विश्वविद्यालयले परिक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई घूस खुवाएर नम्बर बढाएका सुरेन्द्रप्रसाद कोइरालाका शैक्षिक प्रमाणपत्रहरू रद्द गरेको छ । परीक्षा नियन्त्रण कार्यालयबाट गठित अनुसन्धान समिति र अख्तियारको छानबिनबाट अंक थप गरी ट्रान्सक्रिप्ट जारी भएको पुष्टि भएकाले त्रिविको केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले उनका तीनवटै विषयको शैक्षिक प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।
कोइरालाले त्रिविको त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्र, पाटन संयुक्त क्याम्पसबाट ग्रामीण विकास र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका थिए । उनले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई घूस खुवाई तीनवटै विषयमा अंक बढाएर स्वर्ण पदक लिएका थिए ।
त्रिविले कर्मचारीलाई घूस खुवाई नम्बर बढाएका अर्का परीक्षार्थी केदार भट्टराईको स्नातकोत्तर तहको प्रमाणपत्रसमेत रद्द गरेको छ । भट्टराईले पाटन संयुक्त क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारी अंक बढाएको भेटिएकाले भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्रसमेत रद्द गरिएको जानकारी त्रिविले दिएको छ । 
अख्तियारले घूस लेनदेन गरी स्नातकोत्तर तहमा नम्बर बढाइएको सम्बन्धमा छानबिन गरी कोइराला, भट्टराई र त्रिविका सम्बन्धित कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।





No comments:

Post a Comment