Thursday, July 25, 2019

मृतक कामदारका परिवारलाई साढे ४८ करोड राहत

काठमाडौं, ९ साउन– वैदेशिक रोजगार बोर्डले विदेशमा रोजगारीका क्रममा मृत्यु भएका ७ सय ५३ नेपाली कामदारका परिवारलाई आर्थिक वर्ष २०७५÷७६ मा राहतस्वरूप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । बोर्डले एक वर्षमा विदेशमा मृत्यु भएका २३ महिलासहित ७ सय ५३ कामदारका परिवारलाई सहायता उपलब्ध गराएको हो ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्रै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको छ । रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ३ सय ३५ कामदारलाई एक वर्षमा ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ सहायता प्रदान गरिएको जानकारी बोर्डले दिएको छ । बोर्डले अंगभंग वा गम्भीर बिरामीको प्रकृति र मात्राका आधारमा प्रतिशत निर्धारण गरी ७ लाखसम्म आर्थिक सहायता प्रदान गर्ने गरेको छ । बोर्डले वैदेशिक रोजगारीमा गएका कामदारका परिवारलाई १२ लाख १५ हजार रुपैयाँ औषधोपचार सहयोग उपलब्ध गराएको छ ।
बोर्डले गत वर्ष विदेशमा अलपत्र परेका ७८ नेपाली कामदारको उद्धार गरिएको समेत जनाएको छ । बोर्डका अनुसार गत आवमा अलपत्र परेकालाई उद्धार गरी स्वदेश ल्याउन ६ करोड ५६ लाख ५ हजार रुपैयाँ खर्च भएको थियो । बोर्डले गत आवमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ८२ नेपाली कामदारको शव नेपाल झिकाइएको र त्यसका लागि ७ करोड ८५ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । विदेशबाट ल्याइएको नेपाली कामदारको शव उनीहरूको घरसम्म पु¥याउने क्रममा १ करोड ५७ लाख रुपैयाँ खर्च भएको विवरणसमेत बोर्डले दिएको छ ।
बोर्डले गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका कामदारका १ हजार ४ सय ३३ सन्ततिलाई वैदेशिक रोजगार छात्रवृत्तिबापत एक करोड ४८ लाख ६५ हजार रुपैयाँ प्रदान गरेको छ ।

No comments:

Post a Comment