Tuesday, July 30, 2019

राप्रपा महाधिवेशन जेठमा

काठमाडौं, १३ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो जेठमा केन्द्रीय महाधिवेशन गर्ने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको तिथि तय गरेको हो ।
बैठकले आगामी माघ महिनाबाट स्थानीय तहदेखिका परिषद बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रारम्भ गर्ने निर्णय गरेकोसमेत राप्रपाले जनाएको छ ।
राप्रपाले संगठन विस्तार गर्न महाधिवेशन अगाडि मुलुकभर सक्रिय सदस्य वितरण कार्यलाई अभियानका रुपमा सञ्चालन गर्न लागिएकोसमेत जनाएको छ । राप्रपाद्वारा जारी विज्ञप्तिका अनुसार चतराधाम–त्रिवेणी हिन्दूराष्ट्र पुनःस्थापना संकल्पयात्रा मंसिरको अन्तिम सातामा प्रारम्भ गरिने भएको छ ।
राप्रपाले समान विचारधारा भएका दलहरूबीच एकता गर्ने राप्रपा (संयुक्त) को निर्णयलाई स्वागत गरेको छ । राप्रपा बैठकले मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण गर्न एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अरू दललाई आह्वानसमेत गरेको छ ।
राप्रपाले २२ बुँदे माग पूरा गराउन सरकारसँग चाँडो दोस्रो चरणको वार्ता गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले संगठन निर्माण वर्ष २०७६ कार्ययोजना पारित गर्दै भ्रातृ संगठनको अधिवेशन आउँदो वैशाखभित्र गरिसक्ने निर्णय गरेको छ । राप्रपाले आगामी साउन २४ र २५ गते केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, भदौ महीनाभित्र सम्पूर्ण जिल्लामा जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने, असोजभित्र सबै गाउ“पालिका र नगरपालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment