Tuesday, July 16, 2019

तीन जनाविरुद्ध मुद्दा, तीन जना घूससहित पक्राउ

काठमाडौं, ३० असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ डिभिजन प्रमुखसहितका तीन जना इन्जिनियरविरुद्ध सोमबार विशेष अदालतमा भ्र्रष्टाचार मुद्दा चलाएको छ । अर्का डिभिजन प्रमुख (उपसचिव) सहित तीन जनालाई घूस रकमसहित पक्रिएको छ । अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर अजितकुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्नाविरुद्ध मुद्दा दायर गरेको हो ।
श्रीवास्तव र ठगुन्ना निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको रनिङ बिल फरफारक गराइदिने क्रममा २ लाख रुपैया“ घूससहित समातिएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको अख्तियारले जानकारी दिएको छ । अभियोगपत्रमा अख्तियारले दुवै जनालाई घूस रकम बराबर जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ ।
अख्तियारले घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका खरिदार नीता शर्माविरुद्ध मुद्दा चलाएको छ । शर्माले कार्यालयबाट खरिद भएको सामानको भुक्तानी प्रयोजनका लागि कमिसनबापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ ।
अख्तियारले जलस्रोत तथा सि“चाइ विकास डिभिजन कार्यालय भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवलाई घूससहित समातेको छ । यादव षडानन्द नगरपालिका १३ बोयामा रहेको छा“गे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने क्रममा लिएको १ लाख ८० हजार रुपैयाँ घूससहित समातिएको अख्तियारले उल्लेख गरेको छ । अख्तियारले यादवलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।
काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागका नायब सुब्बा कृष्णप्रसाद सोतीलाई पनि अख्तियारले घूससहित पक्राउ गरेको छ । सामाजिक विकास विभागको कार्यक्रमको रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसित लिएको १ लाख ७ हजार रुपैयाँ घूस रकमसहित सोतीलाई पक्राउ गरिएको हो ।

No comments:

Post a Comment