Sunday, July 21, 2019

अब युवाको उमेर १८ देखि ३५ वर्ष

काठमाडौं, ४ साउन– सरकारले १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र युवाको संज्ञा दिने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद ऐन संशोधन विधेयकमा युवाको उमेर १८ देखि ३५ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित नयाँ व्यवस्थाअनुसार युवाको अधिकतम उमेरमा ५ वर्ष घटने छ भने न्यूनतम उमेरमा २ वर्ष बढनेछ । 
संविधानअनुसार १८ वर्ष पुगेपछि मताधिकार प्राप्त बालिग नागरिक हुने व्यवस्था छ । १८ वर्षभन्दा कम उमेरलाई नाबालिग मानिने संवैधानिक व्यवस्था छ । त्यही कारण १८ वर्षलाई युवाको न्यूनतम उमेर कायम प्रस्ताव गरिएको हो । राष्ट्रिय युवा परिषद ऐन २०७२ मा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानिएको छ ।
राष्ट्रिय युवा परिषदले तयार पारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको राष्ट्रिय युवा परिषद ऐन संशोधन विधेयकमा युवाको उमेर हेरफेर गर्न प्रस्ताव गरिएको हो । विधेयक संशोधन प्रस्तावको कारणमा परिषदले अन्तर्राष्ट्रिय चलनअनुसार युवाको उमेर समूह १८ देखि ३५ वर्ष कायम गर्न लागिएको उल्लेख छ । विश्वका धेरैजसो मुलुकमा १८ देखि ३५ वर्षका उमेर समूहलाई नै युवा मानिएको छ ।
मुलुकमा पहिला युवाको उमेर तोकिएको थिएन । राष्ट्रिय युवा परिषद ऐन २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्ने व्यवस्था गरेको हो । २०६८ को जनगणनाअनुसार १६ देखि ४० वर्षसम्मलाई युवा मान्दा मुलुकमा कुल जनसंख्याको ४०.३ प्रतिशत युवा छन् । युवाको अधिकतम उमेर १८ देखि ३५ वर्ष कायम गर्दा मुलुकमा युवाको जनसंख्या केही घटने छ ।
मन्त्रिपरिषदबाट अनुमोदन गरी संशोधन विधेयक संघीय संसदमा पेस गरिनेछ । संघीय संसदका दुवै सदनले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मुलुकमा युवाको उमेर समूह हेरफेर हुनेछ । ऐनमा युवाको उमेर ३५ वर्ष कायम गरेपछि राष्ट्रिय युवा नीति र युथ भिजन–२०२५ मा समेत युवाको उमेर घटाएर ३५ वर्ष कायम गरिनेछ ।



No comments:

Post a Comment