Sunday, July 14, 2019

उपसचिव घुससहित पक्राउ, शाखा अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, २८ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख (उपसचिव) भक्तबहादुर लामालाई घूस रकमसहित पक्राउ गरेको छ । लामा रूख कटानी छुट पुर्जाको म्याद थप गराइदिने बहानामा सेवाग्राहीसँग लिएको ४ लाख रुपैयाँ घूससहित पक्राउ परेका हुन् । उनलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।
यस्तै, अख्तियारले एक शाखा अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका प्रमुख (शाखा अधिकृत) धनबहादुर ओलीले शिक्षक सरुवा प्रक्रियामा सहजीकरणका लागि सेवाग्राहीसँग २५ हजार रुपैयाम् घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै ओली सेवाबाट निलम्बित भएका छन् ।
चार प्रहरी समातिए
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको सामाखुसीबाट घूस लिँदालिँदै चार प्रहरी जवानलाई पक्रिएको छ । नेपाल प्रहरीको महानगरीय ट्राफिक महाशाखाका जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नीरज भण्डारी तथा नेपाल प्रहरीको ३ नम्बर गणका जवान हिटलर साउद पक्राउ परेका हुन् ।
उनीहरूका साथबाट एक लाख रुपैयाँ बरामद गरिएको अख्तियारले जानकारी दिएको छ । उनीहरूले सामाखुसीको एउटा मिठाई पसलमा बसेर गाडी दुर्घटनामा परेका व्यक्तिका लागि बिमा रकम दाबी गर्न सिफारिस गरिदिने प्रलोभनमा पारी सेवाग्राहीसित घूस लिएका हुन् । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



No comments:

Post a Comment