Saturday, July 27, 2019

नख्खु विस्फोटका मुख्य अभियुक्त शेर्पा पक्राउ

काठमाडौं, १० साउन– प्रहरीले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोटमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले उक्त घटनामा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका युवा संगठन सदस्य दोर्ची शेर्पालाई बिहीबार गोंगबुबाट पक्राउ गरेको हो ।
महाशाखाले दिएको जानकारीअनुसार विस्फोट घटनामा शेर्पाले मुख्य योजनाकारको भूमिका निर्वाह गरेका थिए । घटनाअगाडि शेर्पाले एनसेल कार्यालयका सुरक्षागार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको सीसीक्यामराबाट पत्ता लागेको समेत प्रहरीले जनाएको छ । गत फागुन १० गते भएको विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतीक्षा खडका र उरुषा मानन्धर घाइते भएका थिए ।
उक्त घटनामा आठ जना संलग्न रहेकामध्ये सात जना यसअघि नै पक्राउ परिसकेको समेत प्रहरीले जनाएको छ । शेर्पालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइने प्रहरीले उल्लेख गरेको छ ।

No comments:

Post a Comment