काठमाडौं, १५ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाको चैनपुर नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत उत्तम रेग्मीसहित ८ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । रेग्मीले ठेकेदार र व्यापारीहरूस“गको मिलेमतोमा नगरपालिकाको ७ लाख ७ हजार रुपैयाँ अनियमितता गरेकाले उनीविरुद्ध मुद्दा चलाइएको अख्तियारको भनाइ छ ।
मुद्दा दायर गरिएकामा हिमालयन इन्स्टिच्युट अफ टेक्नोलोजी कम्पनीका सञ्चालक यज्ञप्रसाद ढकाल, इन्स्टिच्युट अफ रिसर्च एन्ड डेभलपमेन्टका सञ्चालक दुर्गाप्रसाद दाहाल तथा एभरेस्ट टेक्नोलिङस प्रालिका सञ्चालक अन्जिता गौतमसमेत छन् । अख्तियारले अभियोगपत्रमा चार जनाविरुद्ध ७ लाख ७ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ ।
अख्तियारले सुर्खेतको लेकवेशी नगरपालिका–७ को आदर्श माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक भीमबहादुर ज्ञामीसहित ३ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ । ज्ञामीले लेखा शिक्षक भक्तबहादुर ज्ञामी र तत्कालीन स्रोत व्यक्ति दलबहादुर सिंहसितको मिलेमतोमा विद्यालयमा नक्कली शिक्षक खडा गरी तलब निकासा गरेको देखाएर २ लाख ३८ हजार रुपैयाँ हिनामिना गरेका थिए । त्यसैले उनीहरूविरुद्ध मुद्दा चलाइएको अख्तियारले जानकारी दिएको छ ।
नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय वीरगन्जका निमावि शिक्षक कासिम अन्सारीविरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको छ । अन्सारीले एसएलसी र प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको पुष्टि भएको छ । मुद्दा भए दायरसँगै निजामती र शिक्षक सेवामा रहेका ५ जना निलम्बित भएका छन् ।
No comments:
Post a Comment