Friday, December 7, 2018

कांग्रेसद्वारा राजदूत शेर्पामाथि छानबिनको माग

काठमाडौं, १९ मंसिर– प्रमुख प्रतिपक्षी कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न माग गरेको छ । कांग्रेसले बुधबार विज्ञप्ति जारी गरी शेर्पामाथि ’मानव तस्करीमा संलग्न’ भनी लागेको आरोपलाई गम्भीर रूपमा लिई छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेसले छानबिनका क्रममा मानव तस्करीमा दोषी भेटिए शेर्पालाई बर्खास्त गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।
 ‘कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी भएकाले राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्यतथ्य निरुपण गर्ने कर्तव्य सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौं’ प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा भनेका छन् ।
केही दिनअघि एक टेलिभिजन कार्यक्रममा राजदूत शर्पाका पूर्व चालक ओङछु शेर्पाले राजदूत शेर्पा मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । अष्ट्रेलियास्थित दूतावासले ओङछुको आरोप गलत रहेको जनाएको छ ।
राजदूतवासले जारी गरेको विज्ञप्तिमा राजदूतमाथि लगाइएका आरोप झूठो रहेको दाबी गर्दै त्यसबारेमा ध्यानाकर्षण भएको उल्लेख गरेको थियो । दूतावासले विज्ञप्तिमा ओङ्छु शेर्पा नोभेम्बर २१ का दिन राजदूत निवासमा कोही नभएको मौका छोपी बहुमूल्य सामान चोरी गरी फरार भएको र त्यसको जानकारी परराष्ट्र मन्त्रालय, अस्ट्रेलियाको विदेश मन्त्रालयसहित सम्बन्धित निकायमा गराइसकिएको जनाएको छ ।
 विज्ञप्तिमा नेपाल र सिंगापुरमा रहेका नेपालीहरूलाई ठगी गरेको लिखित उजूरी दूतावासमा आएपछि कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएकोसमेत उल्लेख छ । दूतवासले ओङ्छु अस्ट्रेलियामा लुकिछिपी बसेर अदालतलाई प्रभावित पार्न र व्यक्तिगत छवि धमिल्याउने उद्देश्यले राजदूत शेर्पामाथि झूटो आरोप लगाएको दाबीसमेत गरेको छ ।

No comments:

Post a Comment