Sunday, December 23, 2018

कांग्रेसमा हिन्दू राज्यको पक्षमा बहस हुनु आपत्तिजनक : दाहाल

काठमाडौं, ७ पुस– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी कांग्रेसभित्र हिन्दू राज्यको पक्षमा बहस सुरु भएकामा आपत्ति जनाएका छन् । जारी महासमिति बैठकमा हिन्दु राज्यको पक्षमा लबिइङ र हस्ताक्षर अभियान चलिरहेका बेला दाहालले कांग्रेस धर्मनिरपेक्षताको नीतिबाट पछि हटन लागेको त होइन भन्ने प्रश्न गर्दै त्यसप्रति आपत्ति जनाएका हुन् ।
राजधानीमा शनिबार ‘देश किन बनेन’ नामक पुस्तकको बिमोचन गर्दै दाहालले नेपाली जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट कांग्रेस पछि हटेमा पार्टी नै समाप्त भएर जाने चेतावनी दिए । उनले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशीता संविधानका मुख्य चार खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सि“गै घर भत्काउने दुस्साहस नगर्न कांग्रेस नेतृत्वलाई आग्रह गरे ।
पार्टीले नै संविधानको ‘पिता’ भनेर सम्मान गरेका तत्कालीन प्रधानमन्त्री एवं सभापति सुशील कोइरालालाई ‘स्वर्ग’ बाट ‘नर्क’ मा झार्न कांग्रेसमा हिन्दू राज्यको पक्षमा बहस सुरु भएको जिकिरसमेत दाहालको थियो । उनले बीपी कोइरालाले स्थापना गरेको कांग्रेसले हिन्दू राज्यको पक्षमा वकालत गर्न नसुहाउने बताए ।
उनले विविध धर्म, संस्कृति र सम्प्रदाय रहेको मुलुकमा राज्यले वा कांग्रेसजस्तो जिम्मेवार पार्टीले एउटा धर्मको पक्षमा मात्रै वकालत गर्नु खतरनाक हुने दाबी गरे । उनले कांग्रेस नेताहरूलाई बीपीले धर्मबारे के भनेका थिए, कस्तो संस्कार अपनाएका थिए र तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति गिरिजाप्रसाद कोइराला कसरी धर्मनिरपेक्षताको पक्षमा उभिएका थिए भनेर सोच्नसमेत आग्रह गरे ।


No comments:

Post a Comment