Sunday, December 23, 2018

अमेरिकासित इन्डो प्यासिफिक क्षेत्रका विषयमा मात्र छलफल : परराष्ट्रमन्त्री

काठमाडौं, ८ पुस– परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पेओसँगको भेटवार्तामा अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिमा नेपाल सहभागी हुने विषयमा कुराकानी नै नभएको बताएका छन् । अमेरिका भ्रमणबाट फर्केपछि परराष्ट्र मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी उनले अमेरिका भ्रमणका क्रममा इन्डो–प्यासिफिक क्षेत्रका विषयमा मात्र छलफल भएको बताए ।
उनले कोरियाली प्रायद्वीपमा भइरहेको शान्ति स्थापनाको प्रयास तथा आणविक निःशस्त्रीकरणको प्रयत्नबारे गहन छलफल भएको उल्लेख गरे ।
परराष्ट्रमन्त्री ज्ञवालीले उत्तर कोरियामात्र होइन समग्र कोरियाली प्रायद्वीपमा स्थायी शान्ति हुुनुपर्ने नेपालको अडान र राष्ट्रसंघीय प्रस्तावअनुरूप आणविक निःशस्त्रीकरणको पक्षमा नेपाल रहेको उल्लेख गरे । ‘नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेशमन्त्री पोम्पेओसँग छलफल भएको हो’ उनले भने ।
उनले आफ्नो अमेरिका भ्रमणका क्रममा नेपालमा चिनियाँ प्रभाव घटाउने र अमेरिकी प्रभुत्वलाईं बढावा दिने छलफल भयो भन्ने आशयका गलत समाचार केही सञ्चार माध्यममा आएको उल्लेख अमेरिकाको एसिया–प्रशान्त सुरक्षा रणनीतिमा नेपाल नलागेको बताए ।
ज्ञवालीले पा“चखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको क्षमता अभिवृद्धिमा अमेरिकाले गर्न सक्ने सहयोगबारेमा छलफल भएको जानकारी गराउँदै केन्द्रलाई विश्वस्तरीय प्रशिक्षण प्रतिष्ठानमा रूपान्तरण गर्ने नेपालको योजनामा अमेरिकाले सघाउने आश्वासन दिएको बताए ।
उनले नेपालमा अमेरिकी लगानीका लागि सहजीकरण गर्न, आगामी मार्चको अन्तिम सातामा नेपालमा आयोजना हुने लगानी सम्मेलन, व्यापारको क्षेत्रमा अमेरिकाले नेपाललाई प्रदान गरेको सहुलियत, भन्साररहित तथा सीमारहित सहुलियत प्राप्त वस्तुमा नेपालको तुलनात्मक लाभ रहेका पुरुष र महिलाका पोशाकलाई समावेश गरिदिन आफूले अमेरिकी सरकारलाई अनुरोध गरेको जानकारी दिए ।

No comments:

Post a Comment