Sunday, December 16, 2018

भीभीआईपी उडान गर्न ‘विलाशी’ हेलिकप्टर खरिद

बिना प्रतिस्पर्धा सोझै खरिद
काठमाडौं, १ पुस– सरकारले भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) का लागिमात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा ‘विलाशी’ हेलिकप्टर खरिद गरेको छ । नेपाली सेनाले भीभीआईपीका लागिमात्र प्रयोग गर्ने गरी इटालीमा बनेको १४ सिट क्षमताको ‘अगुस्टा–वेस्टल्यान्ड–एडब्ल्यू–१३९’ हेलिकप्टर खरिद गरेको हो ।
उक्त हेलिकप्टर नेपाली सेनाको हवाई उडडयन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको उडानका लागि २४ सै घन्टा तयारी अवस्थामा (स्टान्डबाई) राखिनेछ । दुई साताअघि मुलुकमा आइसकेको उक्त हेलिकप्टर अझै केही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ । खरिद सम्झौताअनुसारको आए÷नआएको अध्ययन गरेपछि उक्त हेलिकप्टर सेनाको हवाई उडडयन निर्देशनालयले बुझेर आफ्ना अरू हेलिकप्टरस“गै राख्नेछ ।
सेनाले सार्वजनिक खरिद ऐनविपरीत खुल्ला प्रतिस्पर्धाको प्रक्रिया नअपनाई सोझै इटालीको उत्पादक कम्पनीसित वार्ताका माध्यमबाट खरिद सम्झौता गरी हेलिकप्टर किनेको हो । पञ्चायतकाल र बहुदलकालमा तत्कालीन राजाका लागिमात्र उडान गर्ने ‘सुपरपुमा’ हेलिकप्टर थियो । उक्त हेलिकप्टरसमेत सेनाले नै सञ्चालन गथ्र्यो । यो नया“ हेलिकप्टर पनि सुपरपुमाजस्तै भीभीआईपीको उडानमा मात्र प्रयोग हुनेछ । सुपरपुमा थोत्रो भइसकेकाले भीभीआईपी उडानका लागि अर्को सुविधासम्पन्न हेलिकप्टर खरिद गर्नुपरेको जानकारी सैनिक स्रोतले दिएको छ । 
सरकारले नेपाली सेनामार्फत् राष्ट्रपति विद्या भण्डारीको कारगेडका लागि १४ करोड रुपैया“मा विलाशी गाडी खरिद प्रक्रिया अघि बढाएको छ । राष्ट्रपतिका लागि एउटा गाडीमात्र होइन सुरक्षाका अगुवा र पछुवा गाडीसमेत खरिद गर्न लागिएकाले १४ करोड रुपैया“ लाग्ने जानकारी स्रोतले दिएको छ । संवैधानिक राष्ट्रपतिका लागि त्यति मह“गो गाडी खरिद प्रक्रिया अघि बढाइएकामा चर्को आलोचना भइरहेका बेला सरकारले भीभीआईपीको उडानका लागिमात्र हेलिकप्टर खरिद गरेको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भीभीआईपी उडान गर्न हेलिकप्टर खरिद गरिएको जानकारी दिए । ‘मन्त्रिपरिषदको निर्णयअनुसार भीभीआइपी उडानका लागि अगुस्टा हेलिकप्टर खरिद गरिएको छ’ प्रवक्ता भण्डारीले भने– ‘राष्ट्रपतिका लागिमात्र उडान गर्न होइन, भीभीआईपीहरू राष्ट्रपतिसहित उपराष्ट्रपति र प्रधानमन्त्रीको उडान गर्न हेलिकप्टर ल्याइएको हो ।’ ‘हेलिकप्टर आइसकेको छ । खरिद सम्झौताअनुसारको हेलिकप्टर आए÷नआएको अध्ययन भइरहेको छ’ उनले भने । अध्ययनबाट खरिद सम्झौताअनुसारको पाइएमा सेनाले उक्त हेलिकप्टर बुझेर लिएर भीभीआईपी उडानका लागि सञ्चालनमा ल्याउने छ ।
अघिल्लो सरकारकै पालामा उक्त हेलिकप्टर ल्याउने निर्णय भएको र अहिलेमात्र खरिद भएको जानकारी सैनिक स्रोतले दिएको छ । सेनाको हवाई उडडयन निर्देशनालयका चालकले उक्त हेलिकप्टरको परिक्षण उडानसमेत गरिरहेको जानकारी स्रोतले दिएको छ ।
नेपाली सेनाले ४ सिटे इकुरेल र ६ सिटे बेल हेलिकप्टरसमेत खरिद गरेको छ । सरकारले बजेटमा नै सेनाको आकस्मिक उद्धार कार्यको क्षमता अभिवृद्धिका लागि ती हेलिकप्टर खरिद गर्न रकम विनियोजन गरेको थियो । बेल अमेरिकी र इकुरेल फ्रान्सेली कम्पनीका हेलिकप्टर हुन् । यी हेलिकप्टरसमेत सिधै कम्पनीसित वार्ताका माध्यमबाट खरिद गरिएका हुन् ।
सेनाले बजेटमार्फत् दिइएको रकमबाट २ वटा ट्रेनर र एउटा स्काइ ट्रकसमेत खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । सेनाले ३० सिट क्षमताका थप २ वटा हेलिकप्टरसमेत खरिद गर्न खोजेको थियो । अर्थमन्त्रालयले बजेट दिन नमानेपछि ३० सिटे हेलिकप्ट खरिद प्रक्रिया अघि बढेन ।

No comments:

Post a Comment