Sunday, December 30, 2018

चिनियाँ विद्युतीय बस भारतीय परेपछि ...

बस फिर्ता गरेर चीनमा बनेका ल्याउन आपूर्तिकर्ता कम्पनीलाई निर्देशन
काठमाडौं, १४ पुस– सरकारले टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका ५ वटा विद्युतीय बस भारतमा बनेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र आपूर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सबीच भएको टेन्डर सम्झौतामा चीनमा बनेका गुणस्तरीय बस ल्याउनुपर्ने उल्लेख थियो । तर आपूर्तिकर्ता कम्पनीले नेपाल भित्र्याएका ती बस भारतमा निर्माण भएको पाइएको छ ।
 पर्यटन मन्त्रालयद्वारा मेकानिकल इन्जिनियर (उपसचिव) दीपक देवकोटाको संयोजकत्वमा गठित प्राविधिक समितिले स्पेसिफिकेसनअनुसार भए÷नभएको अध्ययन गर्दा ती बसका पार्टपुर्जाहरू भारतमा निर्मित पाएको हो । थप अध्ययनका क्रममा आपूर्तिकर्ता कम्पनीले ती बस भारतमा उत्पादन भएको वीरगन्ज भन्सारमा उल्लेख गरेको पाइएको जानकारी मन्त्रालयका अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार प्राविधिक समितिले ती बसमा १७ वटा कैफियत (बदमासी) औंल्याएको छ । समितिले ती बस गुणस्तरहीन र सार्वजनिक यातायातका लागि चलाउन अयोग्य रहेको प्रतिवेदन दिएको छ  । समितिको अध्ययन प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले ती बस तत्काल फिर्ता गरी टेन्डर सम्झौताअनुसार चीनमा निर्मित गुणस्तरीय बस ल्याउन निर्देशन दिएको छ । मन्त्रालयले ती बसको भुक्तानीसमेत रोकेको छ ।
‘टेन्डर सम्झौतामा उल्लिखित स्पेसिफिकेसनमा तोकिएभन्दा ती बस कमसल र गुणस्तरहीन पाइएपछि मन्त्रालयले आपूर्तिकर्ता कम्पनीलाई फिर्ता लैजान निर्देशन दिएको छ, उसको भुक्तानीसमेत रोकिएको छ’ मन्त्रालयका एक अधिकारीले कान्तिपुरसित भने– ‘सम्झौताअनुसार चीनमा निर्मित गुणस्तरीय बस ल्याउन निर्देशन दिइएको छ ।’
मन्त्रालयले टेन्डर गरी २ करोड रुपैयाँमा ती बस लुम्बिनी विकास कोषका लागि खरिद गरेको हो । लुम्बिनी क्षेत्रमा चलाउन ल्याइएका ती बस परिक्षणका लागि काठमाडौंमा चलाउन प्रधानमन्त्री केपी ओली स्वयंले साझा यातायातलाई हस्तान्तरण गरेका थिए । ओलीले ‘विद्युतीय यातायात सेवा’ को उदघाटन गरी ती बस चढेर सिंहदरबार गएका थिए । परिक्षणका क्रममा गुणस्तरहीन पाइएपछि उदघाटन गरिए पनि ती बस सञ्चालनमा छैनन् ।
प्राविधिक समितिले ती बस सम्झौतामा तोकिएको स्पेसिफिसनअनुसार नभएको र मापदण्डभन्दा कमसल भएको ठहर गरेको छ । टेन्डर सम्झौतामा ‘सी(६’ बस ल्याउने उल्लेख छ, तर आपूर्तिकर्ता कम्पनीले ‘के(६’ बस ल्याएको छ । एसियाली विकास बैंकको सहयोगमा लुम्बिनीको पर्यटकीय क्षेत्रमा प्रदूषणरहित यातायात सञ्चालन गर्न मन्त्रालयले ती बस ल्याएको हो ।
स्रोतका अनुसार २० सिट क्षमताका ५ वटै बसको परिक्षण गर्दा १७ वटा गम्भीर प्राविधिक त्रुटि भेटिएको छ । । टेन्डर सम्झौतामा उल्लिखित स्पेसिफिकेसनसित ती बसको कुनै तालमेल छैन । समितिले यी बस परीक्षणका लागिमात्रै उत्पादन भएको र सार्वजनिक यातायातमा सञ्चालन गर्न योग्य नरहेको निचोड निकालेको छ । ती बसको तौलसमेत सम्झौताअनुसार छैन । सम्झौतामा बस ७ हजार ४ सय ६५ किलोग्रामको हुनुपर्नेमा त्योभन्दा कम तौलका छन् । बसमा आगो निभाउन राखिएका उपकरणसमेत गुणस्तरहीन छन् ।
अध्ययन प्रतिवेदनमा उत्पादन मिति स्पष्ट नभएको, गाडीको बत्ती, सिट बेल्ट, स्वीच बोर्ड र सिटहरूको फेब्रिकेसन कमजोर छ भने अपांगलाई चढाउने लिफ्टसमेत कमजोर छ । ह्विल चियर लिफ्ट तत्काल मर्मत गर्नुपर्ने अवस्थामा छ ।
गाडीको फिनिसिङ राम्रो नभएको, सिट कभर परीक्षणकै क्रममै च्यातिएको तथा बसमा कमजोर खाल सिसा राखिएको पाइएकोसमेत प्रतिवेदनमा उल्लेख  छ । बसको सस्पेन्सन (लचकता) समेत कमजोर छ, बसका ढोकाले राम्रोस“ग काम गरेको छैन । गाडीको स्पिड मिटरले तथ्यगत रूपमा सही सूचना नदिएको निष्कर्ष समितिको छ ।
आपूर्तिकर्ता कम्पनीले मन्त्रालयलाई उत्पादकको परीक्षण रिपोर्ट र बसको मर्मतका लागि आवश्यक उपकरणसमेत उपलब्ध गराएको छैन । बसको पांग्राका नटहरू सबैजसो खिया लागेको अवस्थामा फेला परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

No comments:

Post a Comment