Monday, December 10, 2018

सार्वजनिक पदधारी सबैको सम्पत्ति छानबिन गर्न माग

काठमाडौं, २३ मंसिर– भ्रष्टाचारविरुद्ध ऐक्यबद्ध नागरिक समाजले सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न माग गर्दै आइतबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । समाजले मुलुकमा बढदो भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गर्न ’उच्चस्तरीय छानविन आयोग’ गठन गर्नसमेत माग गरेको छ ।
समाजका तर्फबाट अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय, पूर्वमुख्य सचिव दामोदर गौतम, पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीसहितले प्रधानमन्त्री कार्यालयमा गएर ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले मुलुकका तीनै तहलाई अनुकुल हुने गरी भ्रष्टाचारविरुद्ध कानुनी संरचनालाई समयानुकूल बनाई कार्यान्वयनमा ल्याउनसमेत सरकारलाई ध्यानाकर्षण गराएका छन् । ज्ञापनपत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी बनाउनसमेत आग्रह गरिएको छ ।
समाजले सांसदहरूको निर्वाचन क्षेत्र विकास कार्यक्रममा सबभन्दा बढी अनियमितता रहेको उल्लेख गर्दै त्यस्तो कार्यक्रम खारेज गर्न आग्रह गरेको छ । संघीय संसदमा सार्वजनिक लेखा समिति र राज्यव्यवस्था तथा सुशासन समितिको हस्तक्षेपकारी भूमिका बढाउनु पर्नेमा समेत समाजले जोड दिएको छ ।
समाजले वाइड बडी जहाज खरिद प्रक्रियाप्रति संकेत गर्दै मन्त्रालय र मातहतका निकायबाट गर्नुपर्ने ठेक्कापट्टासम्बन्धी निर्णय मन्त्रिपरिषदबाट गराउने प्रवृत्तिको अन्त्य गर्नसमेत सुझाव दिएको छ ।




No comments:

Post a Comment