Wednesday, December 19, 2018

नेपाल र अमेरिका सहकार्यलाई अझ फराकिलो बनाउन सहमत

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी समकक्षी पम्पेओबीच भेटवार्ता
काठमाडौं, ४ पुस– नेपाल र अमेरिकाबीच सात दशक लामो सहकार्य तथा साझेदारीलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत भएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइकल रिचार्ड पम्पेओबीच भएको भेटवार्तामा दुवै पक्ष सम्बन्धलाई अझ मजबुत बनाउन सहमत भएका हुन् ।
दुई विदेशमन्त्रीबीच मंगलबार राति वासिङटन डिसीस्थित अमेरिकी विदेश मन्त्रालयमा भेटवार्ता भएको थियो । वासिङटन डिसीस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्ति अनुसार भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विविध आयाममा छलफल भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालका प्राथमिकताहरूमाथि प्रकाश पारेका थिए ।
’उच्च स्तरीय भ्रमणहरूको आदान प्रदानको माध्यमबाट राजनीतिक सम्बन्धलाई बढावा दिने तथा व्यापार, लगानी र विकास सहायताजस्ता आर्थिक सहयोगको क्षेत्र अभिवृद्धि गर्ने विषयमा विचारको आदान प्रदान भयो’ विज्ञप्तिमा छ, ’उहाँहरूले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट परियोजनाको शीघ्र कार्यान्वयन तथा यसका फाइदाबारे चर्चा गर्नुभयो ।’
परराष्ट्रमन्त्री ज्ञवालीको मिलेनियम च्यालेन्ज कर्पोरेसन, राष्ट्रिय सुरक्षा परिषद् र रक्षा मन्त्रालयका अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । विदेशमन्त्रीहरुको भेटवार्ता अघि परराष्ट्र सचिव शंकरदास वैरागी र अमेरिकी एक्टिङ एसिस्टेन्ट सेक्रेटरी अलिस जी. वेल्सले नेतृत्व गरेको प्रतिनिधिमण्डलबीच नेपाल–अमेरिका राजनीतिक परामर्श बैठक भएको थियो।
बैठकमा नेपाल सरकारका विकास प्राथमिकता, द्विपक्षीय सम्झौताको कार्यान्वयन, मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट परियोजनाको प्रगति, नेपालको शान्ति प्रक्रिया, विकास सहायता, व्यापार, लगानीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको थियो।



No comments:

Post a Comment