Monday, December 10, 2018

प्रस्तावित चारै जना राजदूत सुनुवाइबाट अनुमोदित

नेपाल–भारतबीच बोर्डर खुला भए पनि मन खुला छैन, आशंका चिर्नुपर्छ : आचार्य
काठमाडौं, २३ मंसिर– संघीय संसदको सुनुवाइ समितिले सरकारद्वारा चार मित्र राष्ट्रका लागि राजदूतमा प्रस्तावित चारै जनाको नाम अनुमोदन गरेको छ । समितिको आइतबार बसेको बैठकले चारै जनाको प्रस्तुति र जिज्ञासाको जवाफ सुनेपछि सर्वसम्मतिबाट उनीहरूको नाम अनुमोदन गरेको हो । 
सुनुवाइबाट अनुमोदन भएकामा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल छन् । अब राष्ट्रपतिले संविधानअनुसार उनीहरूलाई राजदूत नियुक्त गर्ने छिन् ।
त्यसपछि उनीहरूको नाम सम्बन्धित मुलुकमा पठाइनेछ । ती मुलुकको सरकारबाट एग्रिमा आएपछि उनीहरू राजदूत भएर जिम्मेवारी सम्हाल्न जाने छन् ।
भारतका लागि प्रस्तावित राजदूत आचार्यले नेपाल र भारतबीच खुला बोर्डर भए पनि मन भने खुला नरहेको बताएका छन् । सुनुवाइ समितिमा आइतबार सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिंदै उनले नेपाल र भारतबीच रहेको आशंकालाई चिरेर अघि बढनुपर्ने आवश्यकता औंल्याए ।
‘नेपाल–भारत बीचमा खुला बोर्डर छ तर मन भने खुला छैन’ आचार्यले भने, ‘दुई देशबीच कुनै वैमनस्यता छैन, प्रतिद्वन्द्विता पनि छैन, घनिष्ठ छौंं तर कति खुलस्त छौं ? त्यो हेर्नुपर्छ । नेपालको समृद्धि र आर्थिक विकासका लागि भारतसितको सम्बन्ध राम्रो हुनुपर्छ । आपसमा रहेका आशंका चिर्नुपर्छ ।’
उनले नेपालको चीनस“ग सम्बन्ध राम्रो हुनुलाई कसैले पनि भारतस“गको सम्बन्ध कटौतीका रूपमा बुझन नहुने बताए । आचार्यले राजदूतका रूपमा आफूले यही सन्देश भारतीय सरकार र त्यहा“को विदेश मन्त्रालयलाई दिने बताए ।
‘राजदूतले आफ्नो देशको अरू मुलुकस“गको सम्बन्ध कुनै देशविरुद्ध होइन भन्ने मनाउन र बुझाउन सक्नुपर्छ’ आचार्यले भने– ‘हाम्रो चीनस“गको सम्बन्धले भारतस“गको सम्बन्ध कटौती हुन्न ।’
उनले नेपाल र भारतबीच सिमा विवादमात्र नभई र भारतीय सहयोगका आयोजना कार्यान्वयनमा समेत समस्या रहेको उल्लेख गर्दै शिष्ट ढंगले दुई देशबीच आशंकालाई चिरेर विश्वासको सम्बन्ध बढाउनुपर्ने बताए ।
‘हामीबीच सीमाका, डुबानका समस्या छन्, भारतीय सहयोगका आयोजना कार्यान्वयनमा समस्या छन्’ आचार्यले भने, ‘त्यसबारे शिष्ट तरिकाले खुला रूपमा कुरा राख्न सक्नुपर्छ । आशंकालाई विश्वास निर्माणमा लैजानुपर्छ ।’
कांग्रेस सांसद भीमसेनदास प्रधानले ७५ वर्ष भइसकेका कारण राजदूतको भूमिका निर्वाह गर्न गाह्रो त हुने होइन भन्ने जिज्ञासा राखेका थिए ।
‘उमेरलाई समग्रतामा हेर्नु पर्छ । म युवाजस्तो धेरै हिड्न सक्दिन होला तर उमेरस“गै केही राम्रा कुरा त होलान्’ उनले भने– ‘नेपाल–भारत सम्बन्ध चुनौतीपूर्ण रहेकाले राजनीतिक रूपमा परिपक्व मान्छे आवश्यक छ भन्ने ठानेर तयार भएको हु“, जागिर खानका लागि होइन ।’



No comments:

Post a Comment