Friday, December 28, 2018

नेपालमा अब कोही पनि गरिब हुँदैनन् : प्रधानमन्त्री

काठमाडौं, १३ पुस– प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले सबै श्रमिकलाई गरिबीबाट मुक्त गर्ने उल्लेख गर्दै अब नेपालमा कोही पनि गरिब नरहने दाबी गरेका छन् ।
संयुक्त टे«ड यूनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको शुक्रबार उदघाटन गर्दै सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकलाई गरिबीबाट मुक्त गर्ने दाबी गरे ।ु
उनले मुलुकमा श्रमजीवी जनताको हित गर्ने सरकार भएकाले उनीहरुको वृत्ति विकास र आर्थिक स्थिति सुधार गर्न सधैं सकारात्मक रहने बताए ।
‘हामीले मजदुरको मात्र होइन उद्योगीहरूको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं’ प्रधानमन्त्रीले भन्नुभयो– ‘मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।’ ओलीले सरकारले धनीलाई थप धनी हुनबोट रोक्न नभई गरिबलाई धनी बनाउने नीति अख्तियार गरी लागू गरेको बताए । ‘सामाजिक समानताका आधारमा गरिबलाई पनि खान लाउन र दैनिक जीवन सहज ढंगले धान्न पुग्ने गरी कार्यक्रम ल्याउ“छौं’ प्रधानमन्त्रीले भने– ‘सामजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ । हामी छिट्टै त्यो अवस्थामा पुग्छौं ।’
प्रधानमन्त्रीले शीतलहरबाट तराईमा हुने प्राकृतिक प्रकोपबाट कसैको मृत्यु हुन नदिन सरकार प्रतिवद्ध रहेको बताए  । ‘शीतलहरबाट जोगाउनका लागि सुरक्षा निकाय, स्थानीय तह, प्रशासन, निजी क्षेत्र, सबैस“ग समन्वय गरिएको छ’ उनले भने–े ‘यस वर्षदेखि जाडाले कठ्यांग्रिएर कसैले मर्नु पर्दैन ।’
सरकारले अधिनायकवाद ल्याउँदैछ भनेर प्रतिपक्षी कांग्रेसले जनतालाई त्रसित पार्न खोजेको दाबीसमेत प्रधानमन्त्रीले गरे । आफूले आधा शताब्दीभन्दा लामो समय लोकतन्त्रका लागि लडेको उल्लेख गर्दै उनले अधिनायकवादको हल्ला पिटेर जनतालाई आतंकित नपार्न कांग्रेसलाई चेतावनी दिए । ‘सरकारले अधिनायकवाद ल्याउँछ भनेर जनतालाई आंतकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो’ ओलीले भने ।


No comments:

Post a Comment