Friday, December 28, 2018

तीन राजदूतलाई फिर्ता बोलाइयो, शेर्पाका बारेमा निर्णय भएन

काठमाडौं, ११ पुस– सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी ओलीका एक सल्लाहकारले जानकारी दिएका छन् ।
ती सल्लाहकारका अनुसार उनीहरूलाई नेपाल फिर्ता हुन तीन साताको समय दिइएको छ । भुसाल र सिंह कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत भएका हुन् । सरकारले देउवाका पालामा नियुक्त चार राजदूत विश्वम्भर प्याकुरेल (श्रीलंका), प्रतिभा राणा (जापान), रमेश कोइराला (कतार), भीम उदास (म्यान्मार) र प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा नियुक्त सर्मिला पराजुली ढकाल (ओमन) लाई भने फिर्ता गरेको छैन ।
कांग्रेसको कोटामा नियुक्त बा“की चार राजदूतलाई समेत फिर्ता बोलाउने गृहकार्य भइरहेको जानकारी स्रोतले दिएको छ । स्रोतका अनुसार तत्कालीन फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भए पनि नेकपा निकट भएका कारण पराजुली भने फिर्ता हुने सूचीमा छैनन् ।
सरकारले राप्रपाको कोटामा देउवाकै पालामा नियुक्त इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई यसअघि नै फिर्ता गरी त्यहा“ अञ्जान शाक्यलाई नियुक्त गरी एग्रिमाका लागि नाम पठाइसकेको छ । देउवाकै पालामा तत्कालीन माओवादी कोटामा नियुक्त तीन राजदूतमध्ये लक्की शेर्पा (अस्ट्रेलिया) विवादमा परेकी छन् भने पदम सुन्दास (बहराइन) र यमुनाथ लम्साल (डेनमार्क) लाई भने यथावत राख्ने तयारी सरकारको छ ।
मन्त्रिपरिषदले ‘मानव तस्करी’ को आरोपमा परराष्ट्र मन्त्रालयको आन्तरिक छानबिनमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका बारेमा कुनै निर्णय नगरेको जानकारीसमेत स्रोतले दिएको छ । परराष्ट्र मन्त्रालयद्वारा गठित छानबिन समितिले शेर्पालाई काठमाडौंं बोलाएर उनीमाथि लागेको आरोपबारेमा बयान लिइसकेको छ । समितिबाट छानबिन प्रतिवेदन नआइसकेकाले शेर्पालाई फिर्ता गर्ने÷नगर्नेबारेमा मन्त्रिपरिषदले निर्णय नगरेको हो । आफ्नै चालक वाङछु शेर्पाले राजदूत शेर्पामाथि आफूसित १० लाख रुपैया“ लिएर आफूर्ला अस्ट्रेलिया लगेको र आफ्नी श्रीमतीलाई लानसमेत थप पैसा मागेको आरोप लगाएका छन् ।
राजदूत शेर्पासित विवाद भएपछि उनीबाट आफूलाई खतरा छ भन्दै वाङछु शेर्पाले दुतावास छाडेर अस्ट्रेलियामा ‘शरण’ मागेर बसेका छन् । उनी अहिले अस्ट्रेलिया सरकारको निगरानीमा छन् । नेपाल प्रहरीले वाङछु मानव तस्करीमा संलग्न रहेको पाइएको भन्दै इन्टरपोलमार्फत् उनलाई नेपाल फिर्ता गर्न अस्ट्रेलियाको प्रहरीलाई आग्रह गरिसकेको छ । वाङचुकी श्रीमती मानव तस्करीकै आरोपमा पुर्पक्षका लागि थुनामा छिन् । अस्ट्रेलियास्थित नेपाली दुतावासले एक महिनाअगाडि विज्ञप्ति नै जारी गरी भने वाङछु राजदूतको निवासबाट चोरी गरेर भागेको र उनले लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी  गरेको छ ।

No comments:

Post a Comment