Friday, December 28, 2018

एनआरएनलाई नेपाली सरह नागरिकता दिन माग

काठमाडौं, १२ पुस– गैरआवासीय नेपालीले संघीय संसदमा आफूहरूलाई नेपाली नागरिक सरह नै नागरिकता प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका छन् । संसदको राज्य व्यवस्था समितिको बिहीबारको बसेको बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएन) का प्रतिनिधिले गैर आवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थालाई सहज बनाउन आग्रह गरेका हुन् ।
संविधानमा संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी ‘नेपालको गैरआवासीय नेपाली नागरिकता’ प्रदान गर्न सकिने प्रावधान छ । संविधानअनुसार गैर आवासीय नागरिकता प्राप्त नेपालीले राजनीतिक अधिकार भने पाउने छैनन् ।
गृह मन्त्रालयले संवैधानिक व्यवस्थाअनुसार संसदमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक लगेको छ । विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ ।
संघले विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशज वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक भएको र पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले अन्य नेपाली नागरिक सरह नागरिकता पाउनुपर्ने आफ्नो मान्यता रहेको धारणा समितिमा राखेको थियो ।
संघका संरक्षक उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका आमा वा बाबुका सन्तानले पनि गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था ऐनमा नै राख्न सुझाव दिए ।
उनले नागरिकता लिन चाहने व्यक्तिलाई विदेशस्थित नेपाली कूटनीतिक नियोग वा सम्बन्धित जिल्ला कार्यालयबाट नागरिकता दिने व्यवस्था गर्न, निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकको नेपाली नागरिक रहेको प्रमाण पेश गर्ने व्यवस्था गर्नसमेत आग्रह गरेका थिए ।
प्रत्युत्तरमा समितिका सदस्यहरू पम्फा भुसाल, राजेन्द्र श्रेष्ठ, दिलेन्द्र बडु, प्रेम सुवाल, कृष्णभक्त पोखरेल, सूर्य पाठकलगायतलले नेपालको आर्थिक विकासको सहयात्रीका रुपमा गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकको नागरिकता दिन सकिने जवाफ दिएका थिए ।

No comments:

Post a Comment