Sunday, December 2, 2018

प्रधानमन्त्रीको ‘किताब’ विदेशी अतिथिलाई उपहार

काठमाडौं, १६ मंसिर– प्रधानमन्त्री केपी ओलीले आफ्नो पुस्तक ‘माई भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिहरूलाई उपहार दिएका छन् । अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका पुराना र नयाँ भाषण संकलित छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत ओलीले आफ्नो पुस्तक म्यान्मारकी नेतृ आङ सान सुकी, कम्बोडियाका प्रधानमन्त्रीसहित सात जना विदेशी विशिष्ट पाहुनालाई उपहार दिएको उल्लेख गरेका छन् ।
ओलीले पुस्तकमा हस्ताक्षर गरी विदेशी अतिथिलाई बा“डेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हालै उक्त पुस्तक प्रकाशित गरेको हो । उक्त पुस्तक प्रकाशनमा कति रकम खर्च भएको छ भन्नेबारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उल्लेख गर्न चाहेन ।
पहिलो प्रधानमन्त्रीकालमा समेत ओलीका ६० भाषण समेटिएको पुस्तक ‘सेलेक्टेड स्पिच अफ केपी ओली’ पुस्तक प्रकाशित भएको थियो ।
ओलीको पुस्तक चिनिया“ भाषामा समेत प्रकाशित छ । ओलीले गत वैशाखमा चीन भ्रमणका क्रममा चिनिया“ भाषामा प्रकाशित आफ्नो पुस्तक विमोचन गरेका थिए । चीन भ्रमणका क्रममा उनले चिनिया“ भाषमा प्रकाशित आफ्नो पुस्तक चिनिया“ नेतालाई उपहार दिएका थिए ।
ओलीको ४५ वटा भाषण समेटिएको ‘म प्रधानमन्त्री हु“दा’ पुस्तकसमेत प्रकाशित छ ।
राष्ट्र प्रमुख र सरकार प्रमुखहरूले विदेश भ्रमणका दौरान समकक्षीहरूलाई र मुलुकमा आउने विशिष्ट पाहुनाहरूलाई आफ्नो राष्ट्र चिनाउने पुस्तकहरू उपहार दिने परम्परा छ । राजा वीरेन्द्रले २०४४ मा चीन भ्रमणका क्रममा सत्यमोहन जोशीले लेखेको ‘कलाकार अरनिको’ पुस्तक चिनिया“ राष्ट्रपतिलाई उपहार दिएका थिए ।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दू धार्मिक ग्रन्थ भागवत गीता रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई उपहार दिएका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार म्यानमारकी नेतृ सुकीलाई उनको जीवनी समेटिएको कक्षा ९ को किताब उपहार दिएका थिए । त्यही क्रममा उनले आफ्नो पुस्तकसमेत उपहार दिएका हुन् ।


No comments:

Post a Comment