Sunday, December 16, 2018

यातायात समितिहरू कम्पनीमा जाने म्याद फेरि थप

काठमाडौं, २९ मंसिर– सरकारले यातायात समितिहरू कम्पनीमा दर्ता हुने म्याद फेरि थप गरेको छ । वैसाखमा सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्यको घोषणा गरेको सरकारले मंसिर मसान्तसम्मको म्यादभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिका गाडीहरूलाई पुस १ देखि चलाउन नदिने घोषणा गरेको थियो ।
सरकारले व्यवसायीहरूको दबाबमा यातायात समितिहरूलाई कम्पनीमा दर्ता गर्ने म्याद फागुन मसान्तसम्म थप गरेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार सरकारलाई ज्ञापनपत्र दिई कम्पनीमा दर्ता हुने म्याद थप गर्न दबाब दिएको थियो । महासंघले कम्पनीका रूपमा दर्ता हुन कम्पनी ऐन संशोधन गर्नुपर्ने र यातायात समितिको सम्पत्ति स्वतः कम्पनीमा हस्तान्तरण हुनुपर्ने शर्तसमेत राखेको थियो ।
 गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, मन्त्रालय र विभागका अधिकारी तथा महासंघका प्रतिनिधिसहितको बैठकले यातायात समितिहरूलाई कम्पनीमा लैजा“दा समितिका सदस्यहरू सबैलाई सेयर दिन पाउनुपर्ने व्यवसायीको मागलाई सम्बोधन गर्ने निर्णयसमेत गरेको छ ।
समितिलाई कम्पनीमा दर्ता हुने म्याद अन्तिमपटकका लागि थप गरिएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार व्यवसायीको माग सम्बोधन गर्न सरकारले कम्पनी ऐन संशोधन गर्ने भएको । दुवै पक्षको बैठकले यातायात समितिको सम्पत्ति कम्पनीमा सार्ने विषयमा समेत सैद्धान्तिक सहमति भएको जानकारी ती अधिकारीले दिए ।
सरकारले यसअघि यातायात समितिहरूलाई कम्पनीमा दर्ता भई आफ्नो गाडी यातायात विभागमा पञ्जीकरण गर्न मंसिर मसान्तसम्म दिएको थियो । उक्त अवधिमा करिब ४ लाख सार्वजनिक यातायातका गाडीमध्ये ६ हजारमात्र कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण भएका छन् ।


No comments:

Post a Comment