Tuesday, December 11, 2018

चिनियाँ टोलीले बुझायो केरुङ–काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदन

काठमाडौं, २४ मंसिर– चीनको नेसनल रेल्वे अथोरिटीले सोमबार केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाललाई बुझाएको छ । चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाईप्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले कुन ढा“चामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न सहज भएको जानकारी रेल विभागका अधिकारीले दिएका छन् ।
काठमाडौंबाट नुवाकोटको त्रिशूली हु“दै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थासहितको सम्भाव्यता अध्ययन प्रतिवेदनमा समेटिएको छ । सुरुङलाई प्राथमिकता दिंदा रेलमार्ग छोटो हुने प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच नेपाल–चीन रेल्वे को–अपरेसन समितिको बैठकसमेत सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।
समितिको बैठकका नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अधिकारीको नेतृत्वमा मन्त्रालयका सहसचिवहरु, विभागका महानिर्देशक बलराम मिश्रलगायत सहभागी छन् ।
बैठकमा प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र शीघ्र लगानीको प्रारूप तय गरी रेलमार्ग निर्माण गर्ने विषयमा छलफल भएको छ ।
बैठकमा केरुङ–काठमाडौं रेलमार्गलाई प्राथमिकतामा दिई विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने विषयमा छलफल भएको र चीनमा हुने आगामी बैठकमा उपयुक्त निर्णय गर्ने सहमति भएको जानकारी विभाग स्रोतले दिएको छ ।
चिनिया“ प्राविधिकसहितको टोलीले रेलमार्गको स्थलगत अध्ययन गर्नेसमेत कार्यक्रम तय गरेको छ । विभागका अनुसार चिनिया“ प्राविधिक टोली मंगलबार रसुवाको स्थलगत भ्रमणमा जानेछ भने बुधबार काठमाडौं–पोखरा रेलमार्गको विषयमा स्थलगत अध्ययन गर्न पोखरा जाने तयारी गरेको छ ।
केरुङ–काठमाडौं रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । उक्त रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र तीन खर्ब रुपैया“भन्दा बढी लागत लाग्ने प्रतिवेदनले औंल्याएको छ ।
चिनिया“ कम्पनीले काठमाडौं–पोखरा रेलमार्ग निर्माणका लागि यसअघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ । उक्त रेलमार्ग १ सय ७१ किलोमिटर लामो हुने छ ।
प्रधामन्त्री केपी शर्मा ओलीले गत असार ५ देखि १० सम्म गरेको चीन भ्रमणका क्रममा यी दुवै रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । सहमतिलगत्तै चिनिया“ अधिकारीले रेलमार्गको स्थलगत अध्ययनसमेत गरिसकेको छ ।

No comments:

Post a Comment