Wednesday, December 19, 2018

पूर्वप्रधानमन्त्री डा. गिरी रहेनन्

काठमाडौं, ३ पुस– पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा उनको निधन भएको हो । गिरी लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट पीडित थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनअघि मेडिसिटी अस्पतालमा राखी उपचार गरिएको थियो ।
उनले एक दशकसम्म प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बीपी कोइरालास“गै राजनीति गरेका थिए । प्रथम जननिर्वाचित मन्त्रिपरिषदमा उनी परराष्ट्रमन्त्री भएका थिए । ०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित संसद भंग गरी पञ्चायती व्यवस्था लागू गरेपछि भने उनले वीपीले छाडेर राजालाई साथ दिएका थिए । पञ्चायती शासनको सुरुवातमै उनी मन्त्री बनेका थिए ।
०१७ पुस १ मा पञ्चायती शासन सुरू भई १३ गते गठन भएको मन्त्रिपरिषदम‍ा गिरी परराष्ट्र तथा राजदरबारसम्बन्धी मन्त्री भएका थिए । उनी २०३२ मंसिरमा प्रधानमन्त्री भएका थिए । त्यसअघि उनी ०१९ चैत र ०२० फागुनमा मन्त्रिपरिषद् अध्यक्ष भएका गिरी पटक(पटक मन्त्रिपरिषदा उपाध्यक्षसमेत भएका थिए ।
उनलाई निर्दलीय पञ्चायत व्यवस्थाको सूत्राधार मानिन्थ्यो । तर, राजा वीरेन्द्रले पञ्चायती व्यवस्थाअन्तर्गत पनि बालिग मताधिकारको व्यवस्था गरेपछि उनी असन्तुष्ट हु“दै देश छाडेर श्रीलंका हिडेका थिए । २०३६ सालमा तत्कालीन राजा वीरेन्द्रले जनमतसंग्रह घोषणा गरेकामा उनले सार्वजनिक रूपमै विरोध गरेका थिए ।
पछि तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९को कदम चालेपछि उनी स्वदेश फर्किए । तत्कालीन राजा ज्ञानेन्द्रको अध्यक्षतामा गठित मन्त्रिपरिषदमा उनी उपाध्यक्ष भएका थिए । डा. गिरी चिकित्सक भएर पनि चिकित्सा पेशा नअपनाएर राजनीतिमा होमिएका व्यक्तित्व हुन्  । गिरीको राजनीतिक जीवनको थालनी तत्कालीन कांग्रेस नेता विश्ववन्धु थापाको संगतमा आएपछि सुरु भएको हो ।
डा. गिरीको सर्वसाधारण सरह नै दाहसंस्कार गरिने जानकारी पारिवारिक स्रोतले दिएको छ । सरकारले पूर्वप्रधानमन्त्री गिरीको दाहसंस्कार राजकीय सम्मानका साथ गर्न राखेको प्रस्ताव परिवारले अस्वीकार गरेको छ ।
गिरीले मृत्युपूर्व नै आफ्नो अन्त्येष्टि साधारण किसिमले गर्नू भनेर लेखेर दिएको दाबी पारिवारिक स्रोतले गरेको छ । पारिवारिक स्रोतका अनुसार बुधबार गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा गरिनेछ ।

No comments:

Post a Comment