Sunday, December 23, 2018

सन्त नेता भट्टराईको शालिक अनावरण

काठमाडौं, ७ पुस– काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालयमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक निर्माण गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार सन्त नेता भट्टराईको शालिक अनावरण गरे । भट्टराईको ९५ औं जन्मजयन्तीको अवसर पारेर ढलौटको शालिक निर्माण गरिएको हो ।
सभापति देउवाले पार्टीका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र भट्टराईसँगै सुन्दरीजल जेल परेका अरू नेताहरूको समेत संग्रहालय परिसरमा नै शालिक बनाउने घोषणा गर्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।
उनले वीपी संग्रहालय नेपालको मात्रै नभएर अरू लोकतान्त्रिक मुलुकहरूका लागिसमेत उदाहरणीय र दर्शनीयस्थल रहेको उल्लेख गर्दै त्यसको पूर्वाधार विकासमा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । बीपी संग्रहालयमा बीपी कोइराला, गणेशमान सिंहको यसअघि नै शालिक निर्माण गरिसकिएको छ ।
अब  बीपी, गणेशमान र भट्टराईसँगै सुन्दरीजल जेल परेका अरू नेताहरूको समेत शालिक बनाउने कांग्रेसको योजना छ । सभापति देउवाले बीपी संग्रहालय सम्पूर्ण लोकतान्त्रिक जनताका लागि पवित्रस्थल बन्नुपर्ने उल्लेख गरे ।

No comments:

Post a Comment