Saturday, December 22, 2018

पूर्वअधिराजकुमारी प्रेरणाद्वारा दाइजो फिर्ता माग्दै रिट

काठमाडौं, ६ पुस– पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले आफूले दाइजोमा पाएको सम्पत्ति नेपाल ट्रष्टको नाममा दर्ता गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनको माग गर्दै सर्वोच्चमै रिट निवेदन दिएकी छन् ।
प्रेरणाले शुक्रबार वारेसमार्फत पुनरावलोकन निवेदन दर्ता गराई आफूले दाइजोमा पाएको सम्पत्तिसम्बन्धी निर्णयमा पुनरावलोकन गरी आफ्नै नाममा कायम गराउनुपर्ने जिकिर गरेकी छन् ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपक कार्की र सपना प्रधान मल्लको इजलासले प्रेरणालाई दाइजोस्वरुप दिएको काठमाडौको छाउनीस्थित १५ रोपनी एक आना जग्गा नेपालको ट्रष्टको भएको फैसला दुई वर्ष अघि गरेको थियो। 
तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणाको विवाहमा छाउनीको आवाससहितको उक्त जग्गा दाइजो दिएका थिए । यो जग्गा पूर्व राजा वीरेन्द्रको नाममा थियो । मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि सरकारले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको रहेको सम्पूर्ण घरजग्गा र सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने निर्णय गरेको थियो ।
तत्कालीन न्यायाधीशद्वारा रामकुमार शाह र न्यायाधीश चोलेन्द्रसमसेर राणाको इजलाशले दाइजो पाएकाले यो घर जग्गा प्रेरणाकै नाममा दर्ता गर्न सरकारका नाममा आदेश दिएको थियो । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कार्कीसहितको तीन सदस्यीय इजलाशले दुई सदस्यीय इजलाशको निर्णय उल्ट्याई प्रेरणालाई दाइजो दिइएको जग्गा वीरेन्द्रको नाममा भएकाले ट्रष्टको नाममा हुने फैसला गरेको हो ।
प्रेरणाले शुक्रवार दायर गरेको रिटमा कार्कीसहितले २०७३ पुस २१ मा फैसलाले आफू अन्यायमा परेको उल्लेख गर्दै उक्त निर्णय पुनरावलोकनको माग गरेकी छन् । उनले आफ्नो मुद्दा संवैधानिक इजलासबाट फैसला हुनुपर्नेमा पूर्ण इजलासबाट गरिएकामा निवेदनमा आपत्ति जनाएकी छन् । दुई वर्षअघिको फैसलालाई आधार मान्दै ट्रष्टले प्रेरणालाई घर कम्पाउन्ड खाली गर्न ताकेता भएपछि उनले सर्वोच्चबाट पुनरावलोकनको फैसला नभएसम्म घर खाली गर्न चालिएका सबै कदम रोक्न अन्तरिम आदेशसमेत माग गरेकी छन् । जग्गा प्रेरणाकै दाइजो भएको फैसला गर्ने राणा प्रधानन्यायाधीशमा सिफारिस भएपछि उनले फेरि सर्वोच्चमा पुनरावलोकनको मुद्दा दिएकी हुन् ।

No comments:

Post a Comment