Monday, December 10, 2018

निर्मलाका हत्यारा नियन्त्रणमा आइसकेका छन्, छिट्टै सार्वजनिक गर्छौं : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, २२ मंसिर– उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तहरू पक्राउ परिसकेको दाबी गरेका छन् । १० औं मानव अधिकार राष्ट्रिय महाभेलामा शनिबार बोल्दै उनले राजनीतिक दलको आवरणमा अभियुक्तलाई जोगाउन खेल हुन सक्छ कि भन्ने डर रहेको दाबीसमेत गरे ।
‘म यति भन्न चाहन्छु कि निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लागिसकेका छन्, नियन्त्रणमा आइसकेका छन् । सरकारले चा“डै विधिसम्मत ढंगले अभियुक्तहरू सार्वजनिक गर्छ’ उनले भने ।
उनले प्रमुख प्रतिपक्षी कांग्रेसप्रति संकेत गर्दै सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिक ध्येय बोकेकाहरूले छाता ओढाउन आउने हुन् कि भन्ने खतरा रहेको बताए । ‘मलाई डर लागेको छ, सरकारले हत्यारालाई सार्वजनिक गर्दा राजनीतिक ध्येय बोकेकाहरू छाता ओढाउन आउने हुन् कि भन्ने डर लागेको छ । पुष्पाजी (कार्यक्रममा उपस्थित कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुषाल गौतम) ख्याल गर्नुहोला ।’
उनले निर्मलालाई न्याय दिलाउन माग गर्ने राजनीतिक दलका नेता–कार्यकर्ता र अधिकारकर्मीहरूलाई सरकारले हत्यारा सार्वजनिक गर्दा तिनको संरक्षणमा नउत्रनसमेत आग्रह गरे । ‘आज जो जो निर्मलाको हत्यारालाई कारबाही गर्न माग गर्दै एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ । माफ गर्नुहोला, सरकारले अपराधी सार्वजनिक गर्दा कोही पनि छाता ओढाउन नआउनुहोला । त्यो त कहाँ हो र विचरा, निर्दोष थियो, अर्कै पो हो । सरकारले लुकायो भनेर छाता ओढाउन नआउनु होला । यस्ता संवेदनशील विषयमा कसैले पनि राजनीतिक रोटी सेक्नु हुँदैन ।’


No comments:

Post a Comment